काठमाडौं: अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगर पोष्टडटकम आज (आइतबार) बाट पाँचौ वर्षमा प्रवेश गरेको छ। महेन्द्रनगर पोष्टले २०६१ सालबाट सुदूरपश्चिमको प्रथम सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा यात्रा आरम्भ गरेको थियो।
त्यस बखतदेखि निरन्तर प्रकाशित हुँदै आएको पत्रिकाको २०६९ सालमा आएर विविध कारणले दैनिक प्रकाशन बन्द हुन पुग्यो। तत्पश्चात संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल हुँदै आजको दिनसम्म र बीचमा आएका कोभिडजस्ता विभिन्न महामारी एवं संक्रमणकालीन अवस्थालाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ।
चार वर्षअघि आजकै मितिमा बदलिँदो प्रविधि र मिडियाको विकासक्रम अनुसार महेन्द्रनगर पोष्टडटकम डिजिटल पत्रिका (अनलाइन) संस्करणको बीजारोपण भएको थियो। हामीले कुनै ठाउँ विशेषको नाम राखे पनि विश्वभर छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने लक्ष्य लिएका छौं।
सोही लक्ष्यअनुसार महेन्द्रनगर पोष्टले आफ्नो यात्रा आरम्भ गरेसँगै नेपालको राजनीतिक, आर्थिक, न्यायिक र समग्र राज्यसत्तामै ठूला ठूला उथलपुथल भए। यी सबै उथलपुथलमा मूलधारको पत्रकारितालाई वैकल्पिक धार दिने प्रयासमा महेन्द्रनगर पोष्ट सफल भएको छ।
कोभिड महामारीले थिलथिलो भएको अर्थतन्त्र र आम सञ्चार संस्थामा चरम संकट आइपरेका बेला पनि महेन्द्रनगर पोष्ट निरन्तर व्यवसायिक पत्रकारिताको मुलधारमै रह्यो। यी चार वर्षमा महेन्द्रनगर पोष्ट सुदूरपश्चिमबाट सञ्चालित मिडियामध्ये नेपाल र विदेशमा सबैभन्दा धेरै पढिने र हेरिने अनलाइन मिडियाको शीर्षस्थानमा पुग्न सफल भएको छ।
आज चौथो वर्ष पार गरेर पाँचौ वर्षमा प्रवेश गर्दा लाखौं पाठक (अडियन्स) को विश्वास, सोही अनुसारको दायित्व र अझ परिपक्व बन्दै फरक पहिचान तथा प्रस्तुतिसहितको पत्रकारिताको कार्यभार हामीसँग थपिएको छ। यसलाई कायम राख्दै अझ बढी जिम्मेवार र जवाफदेही बन्नुपर्ने अभिभारा पनि हामीसँग छ।
विषेशगरी सुदूरपश्चिम र सुदूरपश्चिमेलीहरु हाम्रो प्राथमिकतामा छन्, चाहे ती स्वदेशमा बस्ने हुन् या विदेशमा। पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने र जनमानसको आवाजलाई बोक्ने हाम्रो लक्ष्य अहिले पनि कायमै छ। र, कालान्तरसम्म पनि कायम रहनेछ।
महेन्द्रनगर पोष्टले चार वर्षको अवधिमा नेपाल र विशेषत: सुदूर नेपालको डिजिटल मिडियालाई विश्वसनीय र व्यवसायिक रुपमा स्थापित गर्न आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेको छ।
नयाँनयाँ खबर (ब्रेकिङ) र शृङ्खलाबद्ध सामाजिक, राजनीतिक र आर्थिक र सुरक्षा क्षेत्रका मुद्दामा विभिन्न रिपोर्टहरूसँगै विश्लेषणहरू हामीले प्रस्तुत गर्दै आइरहेका छौँ। समाजको सुक्ष्म निगरानी, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम र सुरक्षा क्षेत्रका विभिन्न बेथिति उजागर गर्दै सेना तथा प्रहरीलाई संवेदनशील बनाउन हामीले विषेश भूमिका खेलिरहेको हाम्रो दाबी छ।
यस सन्दर्भमा हाम्रा पाठक–दर्शक र शुभेच्छुकहरूबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्न उर्जा दिइरहेको छ।
सुदूरपश्चिमलाई केन्द्रित गरेर सम्पूर्ण नेपाल र नेपालीका सन्दर्भमा विविध सामग्रीहरु व्यावसायिक रुपमा पस्किने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा महेन्द्रनगर पोष्टले सफलता पाएको हाम्रो विश्वास छ। तसर्थ अहिलेसम्मको हाम्रो यात्राले साबित गरिसकेको छ: हामी सत्य-तथ्यमा आधारित सन्तुलित पत्रकारितामा कसैसँग पनि सम्झौता गर्दैनौँ।
अन्तिममा
पाचौं वर्ष प्रवेशको यो सुखद अवसरमा हामी ती सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ, जसले आफ्नो संस्था र देशको अर्थतन्त्र धर्मराएको अवस्थामा समेत हामीप्रतिको आफ्नो विश्वास र सहयोगलाई निरन्तरता दिए।
यस्तै चौथो वर्षगाठँमा हामी प्रण गर्छौ- हामी आफ्नो मौलिक र फरक पहिचानसहितको पत्रकारिताको गोरेटोलाई राजमार्गमा विस्तार गर्न प्रतिबद्ध छौं। स्थापनाकालदेखि जोडिएका केही जागरुक र सशक्त कलमबाज साथीहरु पत्रकारिता यात्राका क्रममा केही समय हामीबाट छुट्नु भएको छ। उहाँहरुलाई चौथो वार्षिकीको अवसरमा सम्झिन चाहान्छौं।
हामीले जहिल्यै लुकेका, लुकाइएका, ओझेलमा पारिएका र अन्यायमा परेकाहरुको पक्षमा अझ सशक्त आवाज बोलेका छौँ र अझै पनि बोल्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
-रवि धामी, प्रधान सम्पादक
-टेकसिंह धामी, सम्पादक
1 Comment
Heartily Congratulations to Team Mahendranagar Post. For your success glorious five years.
Wishing all success.