कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उक्त वडास्थित सिद्धनाथ–कालिका मन्दिरको सिमाङ्कनको माग राख्दै मन्दिर समिति र स्थानीयले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा कर्यालयले मन्दिरको जमिन विवाद समाधान नगरेसम्म ताला नखोल्ने मन्दिर समितिले जनाएको छ । हुलाकी सडकखण्डसँग जोडिएको सिद्धनाथ–कालिका मन्दिरको करिब १८ कट्टा ४ धुर जमिनलाई वडा कार्यालयले पालिकाबाट अमिन बोलाई नापि गरी मन्दिरको जमिन छुट्याइसकेको छ ।
वडा कार्यालयले नापि गरी छुट्याएको जमिनमा पुनः वडा कार्यालयले नै विवाद ल्याउन खोजेको मन्दिर समितिका अध्यक्ष दिनेशराज भट्टको भनाइ छ । मन्दिर समितिलाई जानकारी नै नगराई स्थानीयको जमिन बचाउन वडाअध्यक्षले भूमिका खेलेको उनी बताउँछन् ।
‘मन्दिरको जमिन छुट्याइसकेपछि मन्दिरको दक्षिणतर्फ रहेका स्थानीयले व्यक्तिगत खर्चमा अमिन बोलाई वडा सदस्यको रहोबरमा एकतर्फी रुपमा जग्गा नापि गरेका छन्,’ अध्यक्ष भट्टले भने,’ मन्दिर समितिलाई जानकारी नै नगराई स्थानीयको जमिन बचाउन वडाअध्यक्षले भूमिका खेले ।’
उक्त वडाका अध्यक्ष किसान रानाले भने मन्दिरसँग जोडिएका सदियारले अमिन बोलाएका र आफूलाई एक प्रतिनिधि पठाइदिन भनेपछि वडा सदस्यलाई पठाएको बताए । ‘कुरो विश्वासको हो, मैले उनीहरुले मन्दिर समितिका प्रतिनिधिलाई पनि बोलाइसकेका होलान् सोचे, तर बोलाएका रहेनछन्,’ उनले भने, ‘मैले यो कुरा उपप्रमुख जीलाई भनेको छुँ, उहाँले नापिका हाकिमसँग सल्लाह गरेर दुईतीन दिनमै दुबै पक्षलाई बोलाई मुचुल्का तयार गरी नापि गर्ने बताउनुभएको छ ।’
मन्दिरको जमिनमा गत जेठदेखि नै विवाद भइरहेको छ । मन्दिर समिति र स्थानीयले सहयोगका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पनि गुहारेका थिए । प्रमुख जिल्ला अधिकारी सहितको टोलि घटनास्थल पुगेर सहयोग गर्ने बताए पनि प्रशासनबाट सहयोग नपाएको मन्दिर समितिले जनाएको छ ।