कैलाली– धनगढी उपमहागनरपालिकाले १५ वर्षमूनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जनाएको हो ।
धनगढीमा १५ महिनादेखि १५ वर्षमूनिका ५७ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए । उपमहानगरपालिकाका १९ वटै वडामा रहेका ५७ हजार ७ सय ८२ बालबालिकालाई खोप लगाइने उनले बताए । उनका अनुसार १५ महिनादेखि पाँच वर्षसम्मका छ हजार ५ सय ११ र पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका ५१ हजार २ सय ७१ जना बालबालिकालाई खोप लगाइने छ । स्थानीय तहको निर्वाचनका कारण खोप अभियान प्रभाबित हुन सक्ने भएकाले बुधबारदेखि अर्थात चैत्र २३ गतेदेखि नै खोप अभियान सुरु गर्न लागिएको हो ।
वैशाख २ गते सम्पन्न गर्ने लक्ष्य राखिएको अभियान सफल पार्न स्वयमसेवकहरुलाई पनि खटाइनेछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लगाइने खोप अभियानका लागि ८६ स्वास्थ्यकर्मी र ३ सय ३० स्वयंसेवक पनि परिचालन गरिने जनाइएको छ । अभियानका लागि १ सय ३२ खोप केन्द्र तोकिएका छन् । खोप केन्द्र विद्यालय, स्वास्थ्यचौकीमा राखिएको स्वास्थ्य शाखाले जाएको छ ।