धनगढी: रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै समर्थन फिर्ता लिने भएको हो ।
गत शनिबार मुख्यमन्त्री शाहले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा रुष्ट भएको थियो।
नाउपाले दिइएको समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना चाहिन्छ । नाउपा बाहिरै बसेपनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ ।
यहाँ ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दलमध्ये नेपाली कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।