कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्ड यथाशीघ्र छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्री वितरण लगायतका सबै गैरकानुनी गतिविधिमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।
‘कञ्चनपुरको महेन्द्रनगर नगर विकास समिति (हाल भीमदत्त नगर विकास समिति)लाई २०३६ सालमा ६३८ बिघा ६ कट्ठा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो, सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखिनै वास्तविक गुरु योजना विपरीत जग्गा बिक्री वितरण हुँदै आएको देखिन्छ,’ उनले लेखेका छन्, ‘नगर विकास समितिहरुले गरेका अनियमितताको छानबिनको लागी पटकपटक आन्दोलनहरु हुँदै आइरहेका छन् । अवैध बिक्री वितरण र भाडामा दिने लागायतका अनियमितताका विषयहरु पटकपटक उठ्ने गरेका र विभिन्न छानबिन समितिहरु समेत बनेका पाइन्छन् । तर हालसम्म नगर विकास जग्गा घोटाला लगायतको छानबिन प्रक्रिया सप्पन्न हुन सकेको छैन । त्यसैले यसको छानबिन एवं न्यायिक निरुपणका लागि विशेष छानबिन समिति गठन गर्न जरुरी छ । जेठ ७ गतेदेखि उक्त विषयलाई आन्दोलनको रूपमा अनसन बसिरहेका छन् । तर त्यस विषयमा सरोकारवाला पक्ष र राजनीतिक दलहरु मौन छन् । यसले थप शंका उत्पन्न गरेको छ । त्यसकारण यस विषयमा सरोकारवाला पक्ष अगाडि आएर अविलम्ब छानबिन प्रक्रिया सुरु गरिनुपर्छ ।’