काठमाडौं – अधिवक्ता युवराज सफलले सरकारसँग आफ्नो सुरक्षाको माग गरेका छन् । बाटो हिँड्दा पनि कुटिन थालेपछि उनले असुरक्षा महसुस भएको बताउदै सरकारसँग आफ्नो सुरक्षाको माग गरेका हुन् ।अधिवक्ता युवराज सफलले हिजो बानेश्वरमा कुटाइ खाएका थिए । युवाहरुको एउटा समूहले वादविवादका क्रममा उनलाई लखेट्दै पिटेको थियो ।
जुन घटनापछि उनले एक सञ्चार माध्यमसँगको कुराकानीमा आफु असुरक्षित रहेको बताउँदै भनेका छन्- ‘म असुरक्षित छु । मैले सीडीओदेखि गृहमन्त्री सबैलाई भनेको छु । तर, राज्यले अहिलेसम्म टेरपुच्छर लगाएको छैन । केही पनि नगरेको हुनाले अब आफैंले व्यवस्थापन गर्नुपर्ला जस्तो छ । मैल पीएसओदेखि विभिन्न सुरक्षा मागेको छु । तर, राज्य छ भन्ने नै आभास छैन यो देशमा ।’
बाहिर एक्लै हिँड्न कतिको डर लाग्छ आजकाल भन्ने प्रश्नमा उनले भनेका छन्- ‘बाहिर एक्लै हिँड्ने अवस्था छैन । टेकुमा घटना घट्यो, यहाँ घट्यो । राज्य पनि संलग्न हो कि भन्ने लागेको छ मलाई । प्रहरीले आफ्नो पार्टबाट बचाएका छन् । तर, राज्यको निर्देशन चाहियो नि त १ सीडीओ कार्यालयले गृहलाई भन्नुपर्यो, गृहले निर्णय गराएर दिनुपर्यो । तर, मलाई केही पनि सुरक्षा दिएको छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विषयलाई लिएर अधिवक्ता सफलले रविको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट नंं. ०७९-डब्लूसी-००८६ मा दर्ता भएको रिटमाथि जेठ १७ गते पेशी तोकिएको छ। उक्त रिट दायर पछि रविका समर्थकहरु अहिले उनीमाथि खनिएका छन् ।