काठमाडौँ – सरकारले अमेरिकाले सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयप्रति असहमति जनाउँदै अमेरिकालाई ‘कूटनीतिक नोट’ पठाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अनुसार काठमाडौँस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकालाई यस विषयमा कूटनीतिक नोट पठाइएको हो ।
सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजको हवाला दिँदै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा० र अन्य समूहहरूले नेपालका नेताहरूलाई हिन्दु राष्ट्रको पक्षमा बोल्न र समर्थन गर्नका लागि दबाब दिन पैसा दिइरहेको उल्लेख गरेको छ ।
प्रतिवेदन सार्वजनिक भएपश्चात् संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चासो व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अमेरिकालाई कूटनीतिक नोट पठाइसकेको बताएका थिए ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रतिपक्षी एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले यस विषयमा प्रश्न राखेका थिए ।
‘अमेरिकाको सरकारी निकायले नेपालमा धर्मान्तरण र धर्म अतिक्रमण जस्ता विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा हाम्रो मित्रराष्ट्र भारतलाई समेत प्रतिवेदनले तानेको छ’, संसदमा बोल्दै भट्टराईले संसद्मा शनिबार प्रश्न राखेका थिए, ‘प्रधानमन्त्रीले त्यस विषयमा केही पनि बोल्नुभएको छैन । नेपाल सरकारको धारणा बुझ्न चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले भट्टराईले राखेको प्रश्नको जवाफमा यस विषयमा दूतावासमार्फत अमेरिकालाई नोट पठाइसकेको जनाएका थिए ।