काठमाडौं – सरकारले मलेसिया र खाडी मुलुकमा जाने कामदारका लागि व्यवस्था गरेको ‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहज बनाउन गोल्डेन ड्रीम नामको एपले सहजीकरण गर्ने भएको छ ।
इशारा ईन्स्टिच्युटको सहकार्यमा अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको अखिल नेपाल प्रवासी श्रमिक मञ्चले शनिबार आयोजना गरेको एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
ईन्स्टिच्युटले शुरु गरेको उक्त एपले हाल मलेसियामा कार्यरत नेपाली श्रमिक र वैदेशिक रोजगारीका लागि उक्त मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि भीसा’ कार्यान्वयन गर्न सहजीकरण गरिरहेको छ । नेपालबाट हरेक दिन वैदेशिक रोजगारीमा जानेको संख्या बढदै गएको र उनीहरुबाट म्यानपावर कम्पनीले मनलाग्दी पैसा असुलेको अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था कार्यान्वयन गरिएको ईन्स्टिच्युटका संचालक हिमालय खरेलले बताए ।
वैदेशिक रोजगारीलाई निःशुल्क, सुरक्षित र सुलभ बनाउनु आफूहरुको उद्धेश्य रहेको उनको भनाइ छ । उक्त एप डाउनलोड गरेर निर्देशनअनुसार आफ्नो बायोडाटासहित आवश्यक कागजात राखेर पेश गर्नुपर्नेछ । कागजातको आधारमा सम्बन्धित कामको खोजी गर्न सहज हुने हुँदा बीचमा हुने एजेन्टहरुको ठगी, अनावश्यक झन्झट र म्यानपावरसम्म धाउनपर्ने बाध्यताबाट छुटकारा पाइने खरेल बताउँछन् । एपमार्फत आफ्नो कागजातको आधारमा खोजिएको काम, कम्पनी र त्यसको सेवासुविधालगायतको बारेमा नोटिफिकेशन आउने जनाइएको छ ।