अमर खत्री,
दार्चुला – दार्चुला बहुमुखी क्याम्पसमा चुलियो विवाद, शिक्षण सहायक साउँदले क्याम्पस प्रमुखमाथि लगाईन् गम्भीर आरोप
दार्चुला सदरमुकाम खलंगामा रहेको सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत दार्चुला बहुमुखी क्याम्पसमा पछिल्लो समय विवाद चुलिएको छ ।
क्याम्पसमा अध्यापन गराउने दुई जना उप–प्राध्यापक डम्मर सिंह साउँद र शिक्षण सहायक आशा साउँदको क्याम्पस प्रशासनसँग विवाद चुलिएको हो ।त्यस विवादमा शैक्षिक वातावरण प्रभावित भएको भन्दै विद्यार्थी आन्दोलित समेत भएका छन ।
क्याम्पस प्रशासनको विभेदपूर्ण व्यवहार र स्वेच्छादारी निर्णयका कारण शैक्षिक वातावरण प्रभावित भएको बताइएको छ । क्याम्पसले विगत पाँच वर्षदेखि निरन्तर अध्यापन गराइरहेका शिक्षण सहायक आशा साउँदलाई विना सूचना र व्यक्तिगत कुण्ठाका कारण हटाएको आरोप पनि क्याम्पस प्रशासनलाई लागेको छ ।
स्वयंम शिक्षण सहायक आशा साउँदले क्याम्पस प्रमुख कृष्णसिंह साउँदलाई गम्भीर आरोप लगाएकी छन् । उनको आरोपमा व्यक्तिगत कुण्ठा, स्वेच्छादारी, षडयन्त्रकारी व्यवहार गरिरहने भन्ने छ ।
वि। सं २०६८ सालमा क्याम्पसलाई आवश्यकता पर्दा पार्ट टाइममा अध्यापन गराएको तथा २०७० सालमा आवेदन आह्वान हुदाँ सहभागिता जनाइ लिखित पास भएपनि वैकल्पिकमा परेको साउँदले बताइन् । त्यसपछि सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत आंगिकमा गाभिदा प्राध्यापकको आवश्यकता परेकोले पुनः भर्ना भइ २०७५ बाट निरन्तर अध्यापन गराएको बताइन् ।
अहिले आफूलाई बिना कारण, स्वेच्छादारी र विद्यार्थीको मागलाई वेवास्ता गर्दै हटाइएको उनको आरोप छ। साथै उनले पछिल्ला घटनाक्रमले आफूहरुलाई ज्यानको असुरक्षा रहेको भीडियो समेत सामाजिक संजालमा सेयर गर्दै जनाएकी छिन् ।
शिक्षण सहायक आशा साउँदका विषयमा क्याम्पस प्रमुख कृष्ण सिंह साउँदले आरोपहरु आधारहीन भएको बताउँदै दरबन्दी र सरुवा चाहिएकोले आफूलाई दबाव दिन मात्रै भएको बताए । क्याम्पसको आन्तरिक स्रोत नभएको र अंशकालिन रुपमा कार्यरत उनका लागि विषय अपुग भएको क्याम्पस प्रमुख साउँदको भनाइ छ । तर, शिक्षण सहायक आशा साउँदले भने आफ्ना पढाउने विषयहरु अरु दुई जना प्राध्यापकलाई दिएर आफूलाई सुनियोजित तरिकाले व्यक्तिगत इगोको कारण हटाइएको आरोप लगाइन् ।
बहुमुखी क्याम्पसमा गत कात्तिक महिनादेखि विवाद चुलिएको बताइएको छ । गत मंसिर १५ गते क्याम्पसले उप–प्राध्यापक डम्मर सिंह साउँदलाई बिना सूचना दुई हप्ता क्याम्पसमा अनुपस्थित भएको भन्दै स्पष्टिकरण सोधेको थियो ।
उप प्राध्यापक साउँदले ३० दिनको अध्ययन बिदा माग गरी निवेदन दिएकोमा क्याम्पसले सो अध्ययन बिदा दिन नसकिने जनाउदै प्रक्रियाका लागि विश्वविद्यालयको प्रावधान अनुसार नै हुने भन्दै विभागिय कारवाहीका लागि किन प्रक्रिया अगाडी नबढाउने भनी रजिष्ट्रार र डीन कार्यालयलाई बोधार्थ दिदै ७ दिन भित्र क्याम्पसमा प्रष्टिकरण पेश गर्न सूचित गरेको थियो ।
यस सम्बन्धनमा उप प्राध्यापक डम्मर सिंह साउँदका अनुसार दशै बिदा सकिनु पूवै नै शिक्षा संकाय प्रमुख धाना धामीसँग मौखिक रुपमा बिदाका लागि समन्वय तथा अनुमति लिइ आफ्नो स्वास्थ्योपचार, एमफिल थेसिस प्रपोजल लेखन र भतिजीको कन्यादानको कार्यका लागि कात्तिक १४ गतेदेखि मंसिर १६ गतेसम्म बिदा मिलानका लागि अनुरोध गरिए बमोजिम आफू बिदामा बसेको बताउँदै यसैलाई क्याम्पसले विवादको जड बनाएको बताए ।
उनका अनुसार त्यो बीचमा ८ दिन मात्रै क्याम्पस खुलेकाले ती दिनको प्रभावित पढाइ आफूले व्यवस्थापन गर्दै पूरा गरेको बताए । आफूलाई सुनियोजित ढंगले कारवाही गर्न खोजिएको उनको भनाइ छ । यस्तै उप–प्राध्यापक साउँदले विगत लामो समयदेखि क्याम्पस प्रशासनबाट उचित मूल्यांकन गर्नुको सट्टामा पटक पटक विभेदकारी तथा स्वच्छेदारी व्यवहार गरिनुले काम गर्ने वातावरण नरहेको बताए ।
यस विषयमा क्याम्पस प्रमुख कृष्ण सिंह साउँदलाई बुझ्दा लामो बिदाले शिक्षण क्रियाकलापमा गम्भीर असर परेको हुदाँ स्पष्टीकरण सोधिएको बताउँदै पछिल्लो गतिविधि समस्या समाधानका लागि प्रशासन समितिको बैठक बोलाई समाधान र व्यवस्थापनका लागि पहल भएको बताए ।
यस्तै उपप्राध्यापक डम्मर साउँद पाटन बहुमुखी क्याम्पस बैतडीमा अंग्रेजी विषयको दरबन्दी रहेकोले त्यहाँका लागि प्रक्रिया मिलान गरिदिन भन्दै निवेदन दिएकाले यहाँको शैक्षिक व्यवस्थापनमा समस्या नपर्ने गरी क्याम्पसका स्टाफ बैठक, प्रशासनिक समितिको बैठक, स्ववियुको पत्र तथा स्वयमं उपप्राध्यापक साउँदको निवेदन अनुसार रजिष्ट्रार कार्यालय सुदूरपश्चिम विश्वविद्यालयलाई सिफारिस लागि पत्र काटिएको बताए ।
साथै सरुवाका लागि लिखित निवेदन माग गरेको, निवेदन परेपछि यहाँको कटौती नहुने गरी व्यवस्थापनका लागि लेखि पठाएको उनको भनाइ छ । यसको छिनोफानो गर्ने अधिकार केन्द्रीय कार्यालयको भएको भन्दै यताबाट हुने सबै सुनुवाई गरिएको उनले बताए ।
यस्तो छ आशा साउदको भिडिओ क्लिप :