डडेल्धुरा: भारतले आफ्नो सीमा जोडिएका २ स्थानमा मोटरेबल पुल बनाउने घोषणा गरेको छ। महाकाली नदिमाथि डडेल्धुराको शिर्ष र बैतडीको झुलाघाटमा पुल बनाउने भारतले बताएको हो।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका थिए। नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन्।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नै पुल निर्माण हुने कुरा उल्लेख गरेपछि यो क्षेत्रका नागरिक खुसी भएका छन्। पुरानो नाकाको रुपमा रहेको झुलाघाट नाकामा अब मोटरेबल पुल निर्माणको आसा पलाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए। आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने चरणमा पुगेकाले खुसी लागेको उनले बताए।
यसैगरी डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा पर्ने शिर्षवासी पनि हर्षित भएका छन्।डडेल्धुरावासीहरुले लामो समयदेखि उठाउँदै आएको माग यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणको सिलसिलामा पूरा भएपछि उनीहरू हर्षित भएका हुन्।