काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था प्रेस युनियनको आशन्न जेठमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी महाधिवेशन आयोजक समन्वय उपसमिति गठन गरिएको छ ।
आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी बुधबार बसेको भेलाले युनियनको केन्द्रीय सदस्य राममणि दाहालको संयोजकमा उपसमिति गठन गरेको हो ।
उपसमितिको सहसंयोजकमा युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारी, सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार), आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार)को अध्यक्षतामा भएको बैठकमा महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनका विषयमा केन्द्रीय समिति र मकवानपुर शाखाबीच छलफल भएको थियो ।
कार्यक्रममा सहभागीले मतदाता नामावली निश्चित समयअगावै टुङ्गो लगाउने, प्रतिनिधि दर्ताअगावै गर्ने र शुल्क भुक्तानीलाई बैंकिङ प्रक्रियामार्फत गर्ने व्यवस्था मिलाउने, सचिवालय स्थापना गर्नेलगायत विषयमा सुझाव दिएका थिए ।
छलफलमा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राममणि दाहाल, गिरिजा अधिकारी, सिर्जना अर्याल, वसन्त पराजुली, पत्रकार महासङ्घ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, महासङ्घ जिल्ला शाखा अध्यक्ष एवं युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतमलगायतको उपस्थिति रहेको थियो ।