धनगढीः बझाङस्थित मष्टा गाउँपालिकामा रैथाने बालीको उत्पादन फस्टाउन थालेको छ। त्यहाँको स्थानीय सरकारले रैथाने बालीको उत्पादन थप बढाउने नीति नै लिएर काम गरिरहेको जनाएको छ। पालिकाले रैथाने बालीको उत्पादनलाई बढाउने कुरा प्राथमिकतामा राखेको छ।
सोही सन्दर्भमा आज (शुक्रबार) धनगढीमा रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ। मष्टा गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा रैथाने बालीको उत्पादन, सम्भावना चुनौती लगायतका विषयमा छलफल तथा चर्चा गरिएको थियो। कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार मष्टा गाउँपालिकामा यो वर्ष मात्रै २ सय हेक्टर क्षेत्रमा कोदो खेती र ५० हेक्टर क्षेत्रफलमा सिमी खेती गरिएको थियो। यस्तै पालिकाले अब अन्य रैथाने बालीको क्षेत्र पनि विस्तार गरि उत्पादन बढाएर बजारीकरणमा किसानलाई सहयोग गर्ने नीति लिएको छ। गाउँपालिकाको रैथाने अन्नलाई उत्पादन, उपभोग र बिक्रीवितरणसँग जोड्ने पनि जनाएको छ।
रैथाने बालीको उत्पादन तथा बिक्रीवितरण गरेर रोजगारी बढाउने पालिकाको लक्ष्य छ। पालिकामा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित परियोजनाबाट रैथाने अन्न बालीको उत्पादन, उपभोग र बजारीकरणको योजना कार्यान्वयन भइरहेको हो। गाउँपालिकाले अब कोदो, फापर, जौ, लट्टे अर्थात् बेथे, कागुनो, सिमी र चोनो जस्ता रैथाने बालीको उत्पादन र उपभोग बढाउने लक्ष्य लिएको छ।
जसका लागि प्रदेश सरकारसँग साझेदार गर्दै नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रैथाने बालीको उत्पादन, उपभोग र बजारीकरणको विकास गर्न परियोजना नै सञ्चालन गरिएको छ। यस्तै रैथाने अन्नको क्षेत्र विस्तार गर्ने कुरामा प्रदेश सरकार सकरात्मक रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले बताए। उनले उत्पादन बढाउन, सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई प्राविधिक सहयोग गर्न सरकार तयार रहेको पनि बताए।
1 Comment
हा हा हा हा हा धनगढी को होटेल मा रैथाने बाली को उत्पादन भयछ धेरै राम्रो लगाउने किसान धनगढिको होटेल को भात को पैसा उठाउन लाग्नु ठिकै हो