धनगढीः सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेटको पूर्व सन्ध्यामा छ। त्यहीँ मेलोमेसोमा प्रदेशको अस्थायी मुकाम धनगढीमा बिचौलियाहरूको चहलपहल बढेको छ।
विभिन्न मन्त्रालयबाट योजना हालिदिने भन्दै पहाडबाट विभिन्न जिल्लाका बिचौलियाहरु धनगढी झरेका छन्। कमिसनको मोलमोलाई गरेर उनीहरुले योजना किनबेच गर्ने गरेको बताइएको छ। सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउने गर्छ। त्यसका लागि ती बिचौलियाहरूले धनगढीमा कर्मचारी, मन्त्री र नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्।
ती बिचौलियाहरु बिशेषगरी विभिन्न राजनीतिक दलका युवा नेता, स्थानीय नेता तथा कार्यकर्ता, पूर्व कर्मचारी, केही खेलाडी र व्यवसायीहरूले प्रदेशका विभिन्न जिल्लाबाट अग्रिम कमिसन पकेटका हालेर योजना हात पार्न सेटिङ मिलाउदैछन्। धनगढीमा यस्तो खेलोमेलो सुनिएपछि भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बिचौलियाहरूलाई पक्राउ गर्न आग्रह गरेका छन्।
डिआइजी बोहराले बिचौलियाको खोजी भैरहेको जनाए। बिचौलियाहरूले योजना हाल्न पहल गर्ने भन्दै अग्रिम कमिसन उठाउने गरेका छन्। घटीमा १० देखि बढीमा ३० प्रतिशत रकम कमिसन असुल्ने गरेको चर्चा छ। धनगढीका होटेल तथा रेष्टुरेन्टमा खुलेआम योजना र कमिसनबारे चर्चा हुने गरेको छ। तर प्रहरीले सूचना नपाएको भन्दै पक्राउ गर्न सकेको छैन।