दार्चुला: दार्चुलामा बाँकेका एक जनाको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो।
उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिवार राती भेटिएका थिए। उनको टाउको तथा शरीरभर घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो।
परियारमाथि कुटपिट गर्नेको पहिचान नखुलेको र घटनाबारे अनुसन्धान सुरु भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए।
प्रहरीका अनुसार सोधपुछका लागि चार जना नियन्त्रणमा लिएका छन। मृतक परियार मजदुरीका लागि केही दिन अघि खलंगा आएका थिए। खलंगाको एक होटेलमा नेपालगञ्जबाटै आएका अन्य चार जनासँग बस्दै आएका थिए। होटलमा खाना खाएर सँगै सुत्न गएको खुलेको सँगै प्रहरीले होटलको सीसीटीभी फुटेजको निगरानीलाई अघि बढाएको छ ।