कञ्चनपुर: गर्मीयाम र हावाहूरीको मौसम सुरु भएसँगै सोमबार र मंगलबार मात्रै भीमदत्त र बेलौरी नगरपालिकाका तीन स्थानमा आगलागी भएको छ।
बेलौरी नगरपालिका–६ ढक्का चाँदरमा आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल नष्ट भएको छ।
४५ वर्षीय ऋषिराम चौधरीको टिनले छाएको ३ कोठे भैसी गोठमा मंगलबार बिहान एक्कासी बिजुलीको तार सर्ट भएर आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायत गरी करिब ४ लाख ८२ हजार मुल्य बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
यस्तै भीमदत्त नगरपालिका–१८ सालघाडी सुकुम्बासी बस्तिमा पनि आगलागी भएको छ। स्थानीय कलावती सिंह ठकुरीको घरमा मंगलबार दिउसो ११ बजेतिर आगलागी हुँदा खाद्यान, लत्ताकपडा, टिभी र नगद गरी करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले तत्कालका लागि पीडित परिवारलाई वडा कार्यालयको तर्फबाट १५ हजार रुपैयाँ सहयोग गरेको बताए। यस्तै भीमदत्त नगरपालिका–११ भुजेलास्थित एक घरमा पनि सोमबार आगलागी भएको थियो।