काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो जस्ता साना सवारीसाधनहरु संचालन गरिएको भन्दै काठमाडौँको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने,‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । सुन्दर सहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइटभन्दा पनि यसलाई ट्रिटमेन्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔं ।’
प्रधानमन्त्री देउवाले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताए ।