धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि एकजना घाइते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–११ मा शनिबार सशस्त्र प्रहरी इन्द्र धामीले चलाएको बाइकले यज्ञमुर्ति उपाध्यायको बाइकलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार उपाध्यायको से ३ प ५०८० र धामीले चलाएको सु.प.प्र.०१०११ प ४१६२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। ठक्करबाट उनीहरु दुबै घाइते भएका छन्।
उपाध्याय कैलालीको धनगढीका हुन् भने धामी त्यहीँ ठाउँका स्थानीय हुन्।
उपाध्यायको मोटरसाइकलमा पछाडी सवार इन्द्र पुरुषको पनि खुट्टा भाँचिएको छ। यो घटनामा प्रहरीले सशस्त्रलाई उन्मुक्ति दिन खोजेर भगाएको आरोप लागेको छ। तर त्यहाँका प्रहरी इन्चार्ज असई लालबहादुर ठकुल्लाले भने त्यसो नभएको दाबी गरेका छन्।
उनले सशस्त्र प्रहरीमा कार्यरत धामीको पनि उपचार गर्नुपर्ने भएकाले छोडिएको बताए। दुबै पक्षको धनगढीका अस्पतालमा उपचार जारी रहेको उनले बताए। यस्तै भोलि दुबै पक्षलाई चौकीमा बोलाइएको पनि उनको भनाई छ।