काठमाडौँ : सेयर बजारमा आइतबार परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् ।
नेप्से परिसूचक ४०.४ अङ्क बढेर १९८० अङ्कमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो ।
कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटेल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र व्यापार उपसमूह ९५ अङ्क बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो ।
भूगोल इनर्जी र सिटी होटेलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको २४५.३० र सिटीको मूल्य प्रतिकित्ता १२२.२० रुपैयाँ कायम भएको छ । सिटीको आइतबारदेखि नै कारोबार भएको हो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।