कञ्चनपुर : कैलालीको गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर एक सय शैयाको अस्पताल बनाउने गरी बजेट ल्याएकोमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले विश्वविद्यालय भनेर एक सय शैयाको अस्पतालको लागि बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएको हो।
बैठकपछि संसदीय दलका नेता रावलले प्रेस विज्ञप्ती जारी गरी संघ सरकारले अस्पतालका लागि भन्दै बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन। ‘संघीय सरकारले स्थापनाको घोषणा गरेको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हाल आएर १०० शय्याको अस्पताल बनाउने गरि बजेट ल्याएकोमा घोर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
यसअघि सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा एमाले नेतृत्वको सरकारले बनाएको भौतिक पूर्वाधारहरूको निरीक्षण पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागीय मन्त्रीहरूलाई साथमा राखेर विश्वविद्यालय निर्माण गर्ने घोषणा समेत गरेको बिज्ञप्तिमा उल्लेख छ। हाल आफैले घोषणा गरेको विश्वविद्यालय निर्माणको निर्णय पाखा लगाउनुले सरकारको चरित्र उदाङ्गो भएको रावलद्धारा हस्ताक्षतिर विज्ञप्तीमा भनिएको छ।
नेपालको समृद्धि र मानव संसाधन उत्पादनको लक्ष्य बोकेको ड्रीम प्रोजेक्टलाई निस्तेज पार्न कतिपय अदृश्य शक्तिहरू लागेको आरोप छ। यसले सुदूरपश्चिमेली जनता आक्रोशित बन्न पुगेका विज्ञप्तीमा जनाएकाे छ।