काठमाडौं: अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका विजय शाही अर्को अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् ।
केही समयदेखि गुमनाम रहेका उनले आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर ‘मरेको मान्छे बचाउन सक्ने’ गफ दिए । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।
‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने ।
चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । शाहीको दाबीअनुसार उनको टीमले सर्पले टोकेको, पानीमा डुबेको, हृदयघात भएको र निसास्सिएर अकालमा मरेका मान्छेलाई बचाउन सक्छन् । मृत्यु भएको आठ घन्टाभित्र भेट्टाए बचाउन सक्ने उनको दाबी छ ।
कालगतिले वा वृद्धावस्थाले मरेकाहरूलाई भने बचाउन नसक्ने उनले बताए । शाही कुनै पनि पुस्तक एकैछिन पल्टाएको भरमा कन्ठाग्र पार्न सक्ने दाबी गरेर चर्चामा आएका थिए ।