धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका हाकिम डिआइजी भरतबहादुर बोहराले चर्चित निर्मला बलात्कारपछि हत्या प्रकरण अहिले पनि प्रहरीको प्राथमिकतामै रहेको बताएका छन्। उनले अहिले पनि प्रहरीले निर्मला हत्यापछि बलात्कार प्रकरणलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताएका हुन्।
उनले प्रहरी अहिले पनि महेन्द्रनगरमै रहेर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘अहिले पनि प्रहरी यहीँ छ। प्रहरी आफ्नो हिसाबले निर्मला प्रकरणमा काम गरिरहेको छ।’
यस्तै डिआइजी बोहराले निर्मला प्रकरणलाई आफूले पनि प्राथमिकतामा राखेको जनाउँदै अनुसन्धान चलिरहेको बताए। उनले थपे, ‘त्यो प्रकरण हाम्रो प्राथमिकता मै छ। मैले पनि त्या गएर भनेको छु। अनुसन्धान चलि नै रहेको छ। हामी चाडैं टुंगो लगाउछौ।’
हालसम्म विभिन्न समयमा गरी एक दर्जन बढी प्रहरी अधिकृतहरुले निर्मला पन्त प्रकरणको अनुसन्धान गरिसकेका छन्।
तर हत्यारासम्म पुग्ने सामान्य सुराक पनि प्रहरीले पाउन सकेको छैन। घटनाको सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली अनुसन्धानमा निरन्तर सक्रिय छ।
तर सबैजसो टोली अपराधीको डीएनएकै खोजीमा छ। जुन हालसम्म कसैको पनि म्याच भएको छैन। ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन्।
उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन्। तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन्।
तत्कालीन समयमा प्रहरी नेतृत्वमा सर्वेन्द्र खनाल थिए। त्यसपछि शैलेश थापा क्षेत्री, ठाकुरप्रसाद ज्ञवाली, धीरजप्रताप सिंहले प्रहरीको नेतृत्व गरिसकेका छन्।
हाल प्रहरी नेतृत्वमा वसन्त कुँवर छन्। सबैजसो प्रहरी प्रमुखले आफ्नो प्राथमिकतामा निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धान रहेको बताउँदै आएका छन्।
निर्मला प्रकरणमा बेलाबेला प्रहरी अनुसन्धान विवादमा पर्दै आएको छ। प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ। हालसम्म एक सय बढीको डीएनए परीक्षण भइसकेको छ।
तर कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन।प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए। अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन्।
दिलीप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो। प्रहरीले हालसम्म ७०० जनासँग सोधपुछ गरेको छ।