-जिएस.भण्डारी
रक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने रगत मानव जीवनको अत्यावश्यक तत्व हो। रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले रक्तदानलाई महादान भनिन्छ। विश्व रगत दाता दिवस हरेक वर्ष जून १४ मा पर्दछ।
यस बर्षको लागि विश्व रक्तदाता दिवसको नारा ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने रहेको छ। यस नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ।
यसले विश्वभरिका व्यक्तिहरुलाई नियमित रूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्याउन आह्वानलाई गर्दछ। विश्व स्वास्थ्य संगठनले अनुमान गरेअनुसार कुनै पनि राष्ट्रको रगतको आवश्यकता पूरा गर्नका लागि न्यूनतम कुल जनसंख्याको १ प्रतिशतले रक्तदान गर्नुपर्छ।
प्रत्येक केहि सेकेन्डमा कसैलाई रगत चाहिन्छ। रगतको आवश्यकता सधैं रहिरहन्छ। रगत दान गर्न सक्ने प्रत्येक व्यक्तिले नियमित स्वैच्छिक रक्तदान गर्नुपर्छ जसले गर्दा देशमा पर्याप्त रक्त आपूर्ति हुन्छ। शरीरको कुल रगतको ३० प्रतिशतभन्दा बढी रक्तस्राव घातक हुनसक्छ। जसको लागि तपाईंले गरेको रक्तदानले उक्त व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
नेपालमा रक्तदानको इतिहास ७० वर्ष पुरानो छ। नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंसाकारले वि.सं. २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’को पुनीत अभियान सुरु गरेका थिए। तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरेर यो अभियानलाई अघि बढाएको इतिहास छ। यही नारालाई आत्मसात गर्दै हाम्रो संस्था हेल्प फर हेप्पिनेसले पनि विगत केहि बर्षदेखि नै दैनिक रुपमा इमर्जेन्सी रगतदाताको खोजी गर्दै इमर्जेन्सी रगतको ब्यवस्थापन गर्दै आहिरहेको छ।
कसलाई रगत चाहिन्छ ?
चोटपटक लागेका बिरामीहरू, दुर्घटनामा परेका व्यक्ति, आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, गम्भीर रक्तअल्पताका बच्चाहरूका साथै वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका, शल्य प्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू र क्यान्सर रोगलगायतले ग्रसित ब्यक्तिहरु।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
१) उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन्। रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि हुनुपर्छ। ब्लड प्रेशर ११०-७०, १६०-९५ मि.मि. मर्करी हुनुपर्छ।
२) रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ।
३) रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ।
४) जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हँदैन।
उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक हरेक ४/४ महिनामा रक्तदान गर्न सक्छन्।
रक्तदान गर्नुपूर्व विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ। जुन यस प्रकार छन् :
१) सात्विक भोजन गर्ने,
२)कसैको बारेमा नराम्रो नसोच्ने (सात्विक मन गर्ने)
३)तनावमा नरहने
४)रिल्याक्स भएर बस्ने
५)रक्तदान गर्नु २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धुमपान तथा ६)मदिरापान नगर्ने
७)धेरै बेर नउभिने, आराम गर्ने
८)चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने
९)प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने
१०)दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्ने
कसले रगत दान गर्न सक्दैनन् ?
१) चिसो, फ्लू, घाँटी दुखाइ, पेट संक्रमण भएका वा कुनै गम्भीर रोग लागेका व्यक्तिहरूले गर्न मिल्दैन। ट्याटू वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि ६ महिनासम्म रगत दान दिन सक्दैनन्। सानो प्रक्रियामा दन्त चिकित्सकको भ्रमण गर्ने व्यक्तिले दान दिनु अघि २४ घण्टा कुर्नुपर्छ।
२) १३ ग्राम प्रति डिसीलीटर एल भन्दा कम एचबि भएका पुरुष र १२ ग्रामप्रति डिसीलीटर एल भन्दा कम एचबि भएका महिलाले रक्तदान गर्न सक्दैनन्।
३) एचआईभी संक्रमित व्यक्ति र रिक्रिएशनल औषधिहरुको प्रयोग गर्ने व्यक्तिले रक्तदान गर्न सक्दैनन्।
४) गर्भवती महिला र स्तनपान गर्ने महिलालाई बच्चा जन्माएपछि ९ महिनासम्म रक्तदान गर्न अनुमति छैन।
५)लामखुट्टेले फैलाउने संक्रमण भएका स्थानीय रूपमा हुने मलेरिया, डेंगू, जीका जस्ता संक्रमण भएका ठाउँका मानिसहरुले केहि समय रगत दान गर्नु हुँदैन।
६) रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ। व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा आइरनको स्तर सामान्य सीमा भित्र हुनुपर्दछ।अनि मात्र रक्तदान गर्न उपयुक्त हुन्छ।
अन्त्यमा रक्तदान महादान हो। सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ।जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ। त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन।
किनकी एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ। जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ। त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन। हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ? कुनै बेला आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं।
रगतको अभाव हुन नदिन समाजसेवाको पवित्र उद्देश्य भएका व्यक्ति र सामाजिक संघसंस्थाले रेडक्रससँग सहकार्य गरेर हरेक तीन तीन महिनामा रगत दिने बानीको विकास गर्नुपर्छ। यसो हुन सकेमा हरेक संकटको घडीमा कसैले पनि रगतको अभाव झेल्नुपर्ने अवस्था आउँदैन।
आजैका दिन बाट हामीहरु सबैले ‘रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस्, हुन दिनु हुँदैन’ भन्ने सबैले प्रण गरौं। आजका दिन सम्म इमर्जेन्सी रक्तदानमा सहयोग पुर्याउनु हुने आफन्त साथीभाइ र सामाजिक सञ्जालमार्फत बिरामीले आवश्यक पर्दा रगत म्यानेज गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद।यस्ता कार्यहरुले आगामी दिनहरुमा पनि निरन्तरता पाइरहुन।
[लेखक भण्डारी सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशका संयोजक हुन्।]