धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले भोलि ४ बजे बजेट ल्याउने भएको छ। बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन भएको स्रोतले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले माननीयले खर्च गर्न पाउने गरि सो रकम विनियोजन गर्न लागेको हो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले भने कार्यक्रम लागू गरेपछि प्रदेश सरकार पनि लागू गर्ने चरणमा पुगेको हो।
विगतमा पनि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले छनोट गरेका योजनामा खर्च गर्ने गरी हरेक निर्वाचन क्षेत्रमा तीन करोडका दरले बजेट विनियोजन गर्ने गरिएको थियो। तर, पछि मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालको अन्तिम वर्ष यो कार्यक्रम स्थगित गरेका थिए।
अहिले सुदूरपश्चिममा प्रदेश सभामा प्रत्यक्ष ३२ निर्वाचन क्षेत्र छन्। सो कार्यक्रम लागू गर्दा सांसदमार्फत ९६ करोड खर्च हुनेछ।