काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत् निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत् निर्यात सुरु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत् निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।
प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनिक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।
नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरकरफरक हुने गरेको छ ।