धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कुमारी कौशीला चन्द विवादको भूमरीमा फसेकी छन्। जातीय विभेद हुने खालको अभिव्यक्ती दिएको आरोपपछि उनको चौतर्फी आलोचना भैरहेको छ।
उपप्रमुख चन्दले नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते नगरपालिकामै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भाषण ठोकेकी थिइन्। त्यसक्रममा अन्तरक्रिया चलिरहेकै बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’
दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले आक्रोश पोखिन् र दलित समुदायलाई इङ्गित गर्दै भनिन्, ‘साच्चिकै भन्नुहुन्छ भने म पानी खान्न। चाहे दलितको होस् चाहे ठकुरीको। मेरो कार्यकक्षमा जानुस्। म नगरपालिकामा पनि थर्मसमा राखेर तातो पानीमात्र पिउछु। गाइगुईमा आएको छ उपमेयरले छुवाछूत गर्छ भनेर। मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ। चाहे ठकुरीको घर होस् या दलितको।’
यस्तै उनले सो कार्यक्रममा धेरै ठकुरीहरुलाई बोलाएर सुनाउनुपर्ने पनि बताएकी थिइन्। त्यसपछि देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयाली मनाइरहेका बेला जनप्रतिनिधिबाट जातीय विभेद हुने अभिव्यक्ती आएको त्यहाँ सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र उपमेयरको पक्षबीच भनाभन भएको थियो।
कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो।
पछि सोही विषयलाई लिएर प्रेम दयाललगायत दलित अधिकारकर्मीको टोली बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यहाँ उनीहरुले प्रजिअ सुरेश पन्थीलाई उपमेयरलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएका छन्।
सिडिओ पन्थीले पनि भाषणका क्रममा उपमेयरबाट त्रुटिपूर्ण अभिव्यक्ती सार्वजनिक भएको तर त्यसैमा झन दयाल र उपमेयरको व्यक्तिगत समस्याका कुरा जोडिएकाले घटना लम्बिएको बताए। तर के समस्या हो भनेर उनले खुलाएनन्।
यता उपमेयर चन्दले भने सबै कुरा बिर्से जस्तै गरेर सफेद झूटसहित जातीय विभेद गर्ने किसिमले अभिव्यक्ति नदिएको दाबी गरेकी छन्। आज एक विज्ञप्ती जारी गरेर उनले कुनै जातीय भेदभाव गर्ने किसिमको अभिव्यक्ति नदिएको दाबी गरेकी हुन्। उनले आफू सार्वजनिक पदधारण गरेको र जिम्मेवार उपप्रमुख भएको सम्झिदै यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न नसक्ने कुरा विज्ञप्तीमार्फत भनेकी छन्।