कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने भएको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्।
प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन गर्ने भएको छ। संघीय सरकार आलोचित भइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही बाटो पछ्याएको छ।
चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले नाम हेरफेर गरेर कार्यक्रम ब्युँताएपछि प्रदेश सरकार पनि त्यही बाटोमा लाग्ने तयारी गरिरहेको छ।
सुदूरपश्चिममा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र छन्। कार्यक्रम ब्युँताउँदा सांसदमार्फत ९६ करोड खर्च हुनेछ।