धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् ।
उनले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ भने खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी साधन भने खरिद नगर्ने जनाएको छ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तीय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।