धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताएका छन्। नमूना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि मुख्यमन्त्री शाहको प्रतिक्रिया आएको हो।
शनिबार कञ्चनपुरको बेलौरीमा थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालेसिमिया रोगको पहिचान र निदानलाई प्रभावकारी कार्यान्वयन, नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क शिविरको उद्घाटनका क्रममा शाहले विगतमा झैँ बयालपाटा अस्पतालमा बजेट छुट्याइएको बताए।
‘‘प्रदेश सभामा बजेट सार्वजनिक गर्दा केही दुबिधा भएको छ’’, उनले भने, ‘‘बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राखिएको छ। अघिल्लो वर्ष नौ करोड रुपियाँ सो अस्पतालका लागि छुट्याएको थियो।’’
अस्पतालको लागि बजेट विनियोजन गर्ने कुरामा सरकार प्रष्ट रहेको भन्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री शाहले कुनै कमजोरी भएको भए समाधान गरेर अगाडि बढ्नेसमेत प्रष्ट पारे।
‘‘म त्यहाँका जनतालाई यो विश्वास दिलाउन चाहन्छु कि बयालपाटा अस्पतालका बारेमा केही दुबिधा देखिएको छ। पहिला प्रदेश सरकारले दिँदै आएको सुविधामा कुनै कटौती हुने छैन। त्यसमा पनि केही कमजोरी भए समाधान गरेर हामी अगाडि बढ्ने छौँ’’, उनले भने। अस्पताललाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा दिगो समाधानका लागि एक महिनापछि बृहत् छलफल गर्ने उनको भनाइ छ।