काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई निजी हेलिपोर्ट बनाउन अनुमति दिएको खुलासा भएको छ।
मन्त्री किरातीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नदिइ थापाको कम्पनी सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको खुलासा भएको हो।
सिम्रिक एयर प्रालिले काभ्रे जिल्ला बनेपा नगरपालिका – १४ राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा हेलिपोर्ट निर्माण तथा सञ्चालनको लागि आशय पत्र उपलब्ध गराउन भन्दै २०७९ माघ १३ गते निवेदन दिएको थियो।
गैरसैनिक हवाई उडान ऐन २०१५ ले निजी कम्पनीलाई डाँडा डाँडामा यसरी एयरपोर्ट/हेलिपोर्ट बनाउन दिने पकिकल्पना गरेको छैन। यसको साथै हुँदै नभएको ऐन कानूनको हवाला दिएर मन्त्रीले २०७५ कार्यविधिको आधारमा सहमति दिएका छन्।
पर्यटनमन्त्री किरातीले गत जेठ २२ गते हेलिपोर्टका लागि सैद्धान्तिक सहमति दिएका छन्। सहमतिसँगै मन्त्रालयबाट गत जेठ २८ गते पत्र पठाइएको छ।
रक्षा मन्त्रालयले शान्ति, सुरक्षा लगायतका विषयमा गम्भीर चासो देखाइ यस्ता क्रियाकलाप गर्न नहुने भन्दै दिएको रायलाई बेवास्ता गरेर निर्णय गरिएको छ।