धनगढी – कैलालीमा पनि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । चुनावी तालमेलका लागि गठबन्धन दलहरुले शुक्रबार कार्यदल गठन गरेका छन् ।
नेकपा एकीकृत समाजबादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पाँच दलीय सत्ता गठबन्धन दलबीचको बैठकले चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । गठबन्धन दलको बैठकले चुनावी तालमेलका लागि प्रक्रिया सुरु गर्न पाँच सदस्य कार्यदल गठन गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।
कार्यदलमा नेकपा (एकीकृत समाजबादी)का तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घ सोडारी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेकपा माओबादीका नेता हरिक ज्ञवाली ‘अखण्ड’ जनताका समाजबादीका नेता होरिलाल चौधरी र राष्ट्रिय जनमोर्चाका तर्फबाट जगतप्रसाद जोशी रहेका छन् ।
सचिव सुनारका अनुसार गठित कार्यदलले अब आवश्यकताका आधारमा चुनावी तालमेलको प्रक्रिया सुरु गर्नेछ । बैठकमा पाँचवटै दलका जिल्ला तथा प्रदेशस्तरका नेताहरुको सहभागिता रहेको थियो ।