अछाम: बलात्कारपछि न्यायका लागि अदालत पुगेकी अछामकी एक किशोरीलाई अछाम जिल्ला अदालतले उल्टै कैद सजाय दिएको फैसला उच्च अदालत दिपायलले उल्ट्याई दिएको छ।
२०७८ फागुनमा आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न गएकी अछामको कमलबजार नगरपालिकाकी एक किशोरीले बयान फेरेपछि तत्कालीन जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई ३ वर्ष ६ महिना कैदको फैसला गरेका थिए।
न्यायाधीश जोशीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा हुँदै नभएको दफालाई आधार बनाएर पीडितलाई नै कैद सजाय सुनाएका थिए।
तर, उच्च अदालतले आइतबार १८ औं पटकको पेसीमा जिल्ला अदालतको सो फैसला उल्ट्याएको छ।
न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडकका लागि जिल्ला अदालतबाट भएको फैसला यथावत् राख्दै ती किशोरीलाई सुनाइएको सजायको फैसला उल्ट्याएको हो।
एकल आमाको संरक्षणमा रहेकी ती किशोरीलाई विवाह गर्ने भनेर आफ्नो घरमा ल्याउने बेला अछामको रामारोशनका एक पुरुषले बाटोमै बलात्कार गरेर अलपत्र छाडेका थिए। विवाह गर्ने भनेर घरबाट ल्याएको र बीच बाटोमा आफूलाई बलात्कार गरेर छाडेपछि ती किशोरी प्रहरीको सहायतामा न्यायका लागि लागेकी थिइन्।