धनगढी: धनगढीस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कका हाकिम प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द जिप्रका तानिएका छन्। अस्ती जेठको ३० गते उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो।
बसपार्कको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै ख्याति कमाएका चन्दलाई अभद्र व्यवहारको मौखिक गुनासो आएको भन्दै जिप्रका तानिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले गुनासो आएपछि चन्दलाई जिप्रका तानिएको पुष्टि गरे। स्रोतको दाबी अनुसार कैलालीका एसपी देवेन्द्रबहादुर पालले मोनिका नामले चिनिने एक तेस्रो लिङ्गी महिलाको गुनासो आएपछि चन्दको सरुवा गरेका हुन्।
एक राति मोनिकाले बसपार्कमा झगडा गरेर एक वृद्धमाथि कुटपिट गर्दै लफडा मच्चाएको आरोपमा चन्दले उनलाई नियन्त्रणमा लिएर जिप्रका बुझाएका थिए। तर उनै मोनिकाले भोलिपल्ट एसपी पाल र डिआइजीलाई आफूलाई चन्दबाट असभ्य व्यवहार भएको भन्दै गुनासो राखेकी थिइन्। तर चन्दले भने कुनै दुर्ववहार नगरेको जनाएका छन्। उनले यसअघि चटकपुर र शान्तिनगरपोस्टमा बस्दा पनि कुशल कमाण्ड प्रदर्शन गरेको बताइन्छ।
मोनिकाको गुनासोपछि चन्द जिप्रका तानिए लगत्तै बसपार्कमा भीमबहादुर चन्दलाई खटाइएको छ।