काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार बिहान९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए ।
दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो । पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदैछ । सोही बोट रेस कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटकहरू उक्त जहाजमार्फत नेपाल आउँन लागेका हुन् ।