बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीमा रहेका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर इलाका प्रहरी कार्यालय कोहलपुरका सई बल बहादुर घर्तीलाई नयाँ इन्चार्जको रूपमा पठाइएको छ।
सई थापा विभिन्न विवादमा मुछिएपछि राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग मिलेमतो गरी असुली धन्दा चलाएको आरोप लगाउँदै समाचार सार्वजनिक भएको थियो। यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई तानेर नयाँ इन्चार्ज पठाउने निर्णय गरेको हो।
स्थानीयबासी र जनप्रतिनिधिहरूले सई थापाले अवैध उत्खननमा संलग्न गिरोहसँग साँठगाँठ गरी अवैध असुली गरेको आरोप लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले छानबिन गरेर थापाको स्थानमा कोहलपुरका सई बल बहादुर घर्तीलाई पठाएका हुन्।
सई थापासहित धामपुर चौकीका अन्य सबै प्रहरी कर्मचारीहरू पनि तानिएका छन्।