काठमाडौं: काठमाडौंका दुई प्रहरी वृत्तमा नेतृत्व परिवर्तन भएको छ। लैनचौर वृत्तमा प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारी र सिंहदरबार वृत्तमा डीएसपी गंगाप्रसाद पौडेलले सोमबारदेखि कमाण्ड सम्हालेका छन्।
यसअघि लैनचौर वृत्तमा कार्यरत डीएसपी सत्यनारायण थापा र सिंहदरबार वृत्तमा रहेका डीएसपी चक्रबहादुर शाहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बिदाई गरेको छ।
प्रहरी प्रधान कार्यालयले सिंहदरबार वृत्तका लागि सुरुवातमा डीएसपी बेद पौडेलको सरुवा गरेको थियो। तर, उनले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि डीएसपी गंगाप्रसाद पौडेललाई पठाइएको हो। पौडेल यसअघि काठमाडौं प्रहरी परिसरमै कार्यरत थिए।
प्रहरी वृत्तको नेतृत्व परिवर्तनसँगै स्थानीय सुरक्षा व्यवस्थामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
उसो त मालदार र आकर्षक पोष्टिङ मानिने सोह्रखुट्टे (लैनचौर) वृत्तमा सिआइबीमा कार्यरत डीएसपी भण्डारीलाई नेपाली काङ्ग्रेसका नेताको सिफारिस रहेको बताइएको छ।
सोह्रखुट्टे क्षेत्रमा क्लब तथा रात्री व्यवसायको हब भएकाले प्रहरीले आकर्षक पोष्टिङ मान्ने गरेका छन्। यसअघि सोह्रखुट्टे वृत्तमा डीएसपी सत्यनारायण थापा कार्यरत थिए, जसको एक वर्षे अवधि पूरा भएको थियो।
र, यो पनि: प्रहरीमा केही डीएसपी र इन्स्पेक्टरहरुको काज, मालदार ठाउँमा पुगे भण्डारी