काठमाडौं: नेपाली सेनाद्वारा निर्मित काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालमा सामान्य जवानदेखि पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल तथा छत्रमानसिंह गुरुङसम्मले उपचार गराइरहेका छन्।
पछिल्लो समय सेवा सुधार थालेको अस्पतालले न्यूरोलोजिक समस्याले ग्रस्त छत्रमान गुरुङको ७ महिनादेखि अस्पतालको भिआइपी वार्डमा राखेर उपचार गर्दैछ। उनलाई पेटमा प्वाल पारेर खाना खुवाउने विधिबाट उपचार भइरहेको छ।
यस्तै अस्पतालमा पूर्व तीनतारे जर्नेल बालानन्द शर्माकी पत्नी पनि डेढ वर्षदेखि पक्षाघातको उपचार गराइरहेकी छन्। त्यस्तै पूर्व सेनापति रुक्माङ्गत कटुवाल मिर्गौलाको समस्या भएकाले हप्तामा दुई पटक अस्पतालमा डायलायसिस गरिरहेका छन्।
नेपाली सेनाका अग्रजहरूले आफ्नो व्यक्तिगत लाभभन्दा संस्थाको भविष्यलाई ध्यानमा राखेर स्थापना गरेको यो अस्पतालले सैनिकहरूको स्वास्थ्य सेवामा ठूलो योगदान दिएको छ।