धनगढी: दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । दुर्घटनापछि बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएका उनको टाउकोमा गम्भीर चोट देखिएको उपचारमा संलग्न चिकित्सकले बताए ।
पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाका अनुसार उनको नाकबाट पनि अत्यधिक रक्तश्राव भएको छ । उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल अधिक रहेको बताइएको छ । थप उपचारको लागि नेपालगन्ज लगिएका उनको उपचार सुरु भएको बताइएको छ ।
उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँगै हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको छ ।