धनगढीः प्रहरीले कैलालीको अत्तरियाबाट थप दुई जना आन्दोलनकारी पक्राउ गरेको छ । मालाखेती प्रहरीले आज साँझ आन्दोलन गरिरहेका भीम बोहरा र गौतम रोकायालाई पक्राउ गरेको हो ।
आज दिउँसो प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोडको आरोपमा दीपक बोहरा र भेष बोहरा पक्राउ परेपछि उनीहरुको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका बोहरा र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन तथा कानुन निर्माणको माग गर्दै आएका आन्दोलनकारीले मंगलवार सरकारी सवारी सञ्चालनमा रोक लगाएका थिए । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले कैलालीको गोदावरी३ चौकिडाडाँमा जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए ।
गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले प्रहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरी आन्दोलन कमजोर पार्न लागेको बताउँदै प्रहरीका विरुद्धसमेत आन्दोलन गर्ने बताएका छन् ।