धनगढीः बझाङ जिप दुर्घटनामा घाइते भएका चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारी खतरामुक्त रहेका बताइएको छ ।
बाँकेस्थित कोहलपुुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा ब्राइन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेका बताएका हुन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा.पोख्रेलले बताए ।
जोशीको मेरुदण्ड दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागको एक ठाउँको हड्डी दबिएको छ । उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए ।
जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका जिप चालक हुन् भने भण्डारी पीएसओ हुन् । मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो भने उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि स्थानीय अस्पतालमै मृत्यु भएको थियो ।
मन्त्रीसहित उनीहरु सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलवार बझाङको केदारस्यु गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।