धनगढी: सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो।
मङ्गलवार भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदे विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन्।सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, कञ्चनपुरको कृष्णपुर-४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा-५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्ट र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन्।
यस्तै, बझाङको मष्टा गाउँपालिका वडा नम्बर ७ मा रहेको हिमालयन नेपाली कागज उद्योगका सञ्चालक प्यारीलाल जेठारा, बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ मा रहेको हिमाली नेपाली हाते कागज उद्योगका सञ्चालक चन्द्रवीर बुढा र त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको प्रतिभा नेपाली हाते कागज उद्योगका सञ्चालक धनादेवी थापालाई सम्मान गरिएको छ।
उता डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ को ग्रीन माउन्टेन कृषि विकास फर्मका सञ्चालक सावित्रा ओझा र अजयमेरू गाउँपालिका वडा नम्बर ३ मा रहेको जिआर कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मीकान्त पनेरू पनि सम्मानित भएका छन्।
यस्तै, बैतडीको पुरचौडीं नगरपालिका वडा नम्बर ७ मा रहेको राताशिला कुटानी पिसानी उद्योगका सञ्चालक जयसिंह साउँद र दार्चुलाको महाकाली नगरपालिका-४ मा रहेको राजेश सिलाई सेन्टरका सञ्चालक राजेशसिंह नेपालीलाई उत्कृष्ट उद्यमीको सम्मान मिलेको छ।