काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले जिम्मेवारी त्यागेकी छन् । बालेनको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनले आज राजीनामा दिएकी हुन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर अर्यालले मेयरका पछिल्ला गतिविधिप्रति आफू सन्तुष्ट हुन नसकेकाले पद छोड्ने निर्णयमा पुगेको खुलाएकी छन् । ‘उहाँको आचरणले द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ जसका कारण म सल्लाहकारको पदबाट राजीनामा दिन चाहन्छु’, उनले भनेकी छन् ।
काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन् । तर, अहिले मेयर बालेनले शैक्षिक गतिविधिमाथि गरेको नियन्त्रणप्रति उनको विमती थियो । जसलाई उनले लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको बताएकी छन् ।
मेयर बालेनलाई शुभकामना भन्दै उनले लेखेकी छन्, ‘काठमाडौंका नागरिक र उहाँका मतदातालाई डरधम्की नदेखाउन आग्रह गर्दछु ।’ लोकतन्त्र, कानुनको शासन र स्थानीय सरकारको सीमाको पालना गर्दै काम गर्न पनि उनले सुझाव दिएकी छन् ।
अर्यालले प्रष्ट नभने पनि विधि, पद्धति र प्रक्रियासम्मत ढंगलेभन्दा पनि भीड जम्मा पारेर उत्तेजक शैलीमा काम गर्ने मेयर बालेनको कार्यशैलीप्रति उनी विगतदेखि नै सन्तुष्ट थिइनन् । पछिल्लो समय शैक्षिक मेला रोक्ने र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने निर्णय गरेपछि उनी पद छोड्ने निर्णयमा पुगेको बताइन्छ।