धनगढी: बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकारले आज (बिहीबार) को क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको हो।
समितिले घटनाको सम्बन्धमा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रतिवेदन पेश गर्ने छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो।
असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको सवार गाडी दुर्घटनामा परी निधन भएको थियो। उनीसँगै उनकी पत्नी अमृता सिंह र मन्त्रीका नातेदार पर्ने जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो। गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन्।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन।