धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
त्यस्तै, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अप्रेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरेका थिए। प्रयोगात्मक परिक्षामा अनुत्तिर्ण भएका २८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहविरुद्ध लगाइएको छ।
शाहले प्रयोगात्मक परिक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको छ। रावलले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको अख्तियारले जनाएको छ।
अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरेको छ। अख्तियारले शाहको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।