धनगढी: कैलालीमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक कैलालीको जोशीपुर गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका प्रहरीले बताएको छ । उनलाई भेरी अस्पताल बाँके रेफर गरिएको बताइएको छ ।
बस चालक बैतडीको पाटन नगरपालिका-७ का ३८ वर्षीय तेजसिंह ठगुन्नालाई पनि नोभा अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, बसका सहचालक कैलालीको गोदावरी नगरपालिका-२ का ४० वर्षीय बिर्खबहादुर रानामगर पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार अन्य घाइते हुनेमा कैलालीको टीकापुर नगरपालिका-१५ की ४२ वर्षीया यशोदा कठायत, टीकापुर-३ की ३५ वर्षीया पुष्पा सिर्पाली, १० वर्षीय जोन सिर्पाली, टीकापुर-१ की ३५ वर्षीया कमला रावल भण्डारी र टीकापुर-४ का ४ वर्षीय सलुन भण्डारी रहेका छन् ।
त्यसैगरी, कैलालीकै घोडाघोडी नगरपालिका-१ का ५१ वर्षीय प्रेमलाल चौधरी, घोडाघोडी-१० की २३ वर्षीया चित्रा शाही, २१ वर्षीय रुपेश शाही, बर्दगोरिया गाउँपालिका-६ की २५ वर्षीया मिना बम र उनकी एक वर्षीया छोरी सरस्वती बम रहेका छन् ।बर्दियाको राजापुर नगरपालिका-३ की २२ वर्षीया सुष्मा चौधरी उनको एक वर्षीय छोरा कायरन चौधरी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ की ७० वर्षीया मोति मिजारा घाइते भएका छन् ।
दुर्घटना हुँदा नजिकै रहेका साइकलयात्री भाग्ने क्रममा घाइते भई स्थानीय कुष्मि मेडिकल पहलमानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जसमा घोडाघोडी नगरपालिका-५ की ४० वर्षीया फूलकुमारी चौधरी, २६ वर्षीया रितिका चौधरी र १६ वर्षीया प्रगती चौधरी रहेका छन् ।
आज कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मदिरा बोकेको सुपप्र ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म १ ख ९०९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।