डडेल्धुरा: आम मानिसले बुझेको बिहेका लागि २ विपरीत लिंगको आवश्यकता हुन्छ। सामान्यतया उमेर पुगेका पुरुष र महिला धार्मिक तथा सामाजिक मान्यता अनुसार बन्धनमा बाधिनु नै विवाह हो भनेर बुझिन्छ। तर, के होला कुनै दिन महिलाको अस्तित्व नै यो संसारमा रहेन भने ? जब बिहे गर्न पुरुषलाई महिला नै पाइएन भने ?
यस्तै एक प्रश्नले एक कार्यक्रमका सहभागीको मस्तिष्क हल्लिएको थियो। अस्ति डडेल्धुरामा आयोजित पत्रकारसँगको स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो प्रश्न जब तेर्सियो सबै सहभागी नाजबाफ बने।
कार्यक्रममा जिल्लामा भएका गर्भपतनको तथ्यांक देखाइएको थियो। यसो हेर्दा जिल्लामा गर्भपतन गर्नेको संख्या बढ्दै गइरहेको उक्त तथ्यांकबाट प्रष्ट भयो।
स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कूल १२६१ गर्भपतन भएका रहेछन्। यस्तै गत आर्थिक वर्षमा १२२३ र यो आर्थिक वर्षको ६ महिनासम्म ५०२ जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ। यसरी गर्भपतन गर्नेमध्ये धेरैले भ्रुण पहिचान गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले कार्यक्रममा बताए। उनले यहाँ मात्रै नभएर अहिले विश्वमै कानुनले बन्देज गरेको भ्रुण पहिचान गरि गर्भपतन भइरहेको बताएका छन्।
छोराको आशमा कानुनविपरीत लुकीछिपी तथा भारतमा गएर भ्रुण हत्या गर्दा कुनैबेला विश्वमा महिलाको संख्या न्यून हुन जाने साउदलगायत कार्यक्रममा सहभागीहरुले निष्कर्ष निकालेका थिए।
उक्त विकराल समस्या यसरी नै बढ्दै जाने हो भने कुनैबेला बिहे गर्न केटी समेत पाउन मुस्किल हुने बताइएको छ। एक सन्तान मात्रै जन्माउन पाइने कानुन लागू गरेपछि अहिले उक्त समस्या चीनमा आएको जानकारी स्वास्थ्य कार्यालय प्रमुख साउदले दिए। ‘महिलाको अस्तित्व नै समाप्त पार्ने गर्भपतनले जनसांख्यिकीमा ठूलो प्रभाव पार्ने देखिन्छ’ उनले भने।
डडेल्धुरामा ग्यास्ट्रिक पीडित बढ्दै
डडेल्धुरामा पेटसम्बन्धी रोग ग्यास्ट्रिक पीडितको संख्या दिनानुदिन बढ्दै गइरहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ।
यो आर्थिक वर्षको ६ महिनासम्म जिल्लाका स्वास्थ्य संस्थामा ग्यास्ट्रिकका ८ हजार १५६ बिरामी आएको तथ्यांकले देखाएको छ। जिल्लामा सबैभन्दा बढी रुघाखोकीका बिरामी ओपीडीमा आउने सार्वजनिक गरिएको तथ्यांकले देखाएको छ। उक्त संख्या ८ हजार ८९३ रहेको छ। यस्तै जिल्लामा ७ हजार २४४ जना ज्वोरो आएर स्वास्थ्यसंस्थामा आएका रहेछन्।
छैनन् दरबन्दी अनुसारका स्वास्थ्यकर्मी
कार्यक्रममा डडेल्धुराका स्थानीय तहमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको तथ्याङ्क समेत सार्वजनिक भएको थियो। जिल्लाका ७ स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ।
जसमा १ सय ३० जना कार्यरत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले जानकारी दिए। जिल्लामा स्वीकृत दरबन्दीमध्ये २६ जनाको पदपूर्ति हुन सकेको छैन।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेका छन्।
जिल्लामा २ सरकारी अस्पताल, २४ स्वास्थ्य चौकी, २६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २० सामुदयिक स्वास्थ्य सेवा इकाई, १०६ खोप केन्द्र, ८७ गाउँघर क्लिनिक र ३६ वटा बर्थिक सेन्टर रहेका छन्।