धनगढी: धनगढी बसपार्कमा तेस्रो लिङ्गी महिलाले लफडा मच्चाएर असईको सरुवा भएको भन्ने समाचारको मोनिका शाहीले खण्डन गरेकी छन्। तेस्रो लिङ्गी महिलाले बसपार्कमा लफडा मच्चाएर बृद्धामाथि कुटपिट गरेको भन्ने आरोपमा सत्यता नभएको भन्दै उनले समाचारप्रती ध्यानाकर्षण भएको बताएकी हुन्।
बसपार्कमा बृद्धा महिलामाथि कुटपिट गरेको र लफडा मच्चाएको दाबीमा सत्यता नरहेको बताउदै शाहीले अस्थायी प्रहरी पोष्टका प्रहरीले अन्याय गरेपछि सुुदूरपश्चिमका डीआईजी भरत बोहरा र कैलालीका एसपी देवेन्द्र पाललाई गुुनासो गरेर असईको सरुवा आफैले गराएको दाबी गरिन्।
‘त्यो दिन बसपार्कको होटलमा दुई पक्षबीच मदिरा सेवन गरेर झगडा भइरहेका बेला मैले सम्झाइबुुझाई गर्दा उल्टै म माथि आक्रमण हुने अवस्था आएपछि प्रहरी पोष्टमा पुगेकी हुँ,’ मोनिकाले भनिन्, ‘तर त्यहाँका असई गजेन्द्र चन्द साबले मलाई धकेलधाकल गर्दै उल्टै अन्याय गर्नुभयो। त्यसको न्यायका लागि डीआईजी र एसपी साबलाई गुुनासो गरेकी हुँ तर मैले लफडा मच्चाएको होइन।’
शाहीले आफूले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने बताएपछि डीआईजी बोहरा र एसपी पालले त्यसो नगर्न आग्रह गर्दै असईको सरुवा गरेर माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि रोकिएको समेत दाबी गरिन्।
४ असारमा पहिलोपटक महेन्द्रनगरपोष्ट डटकमले ‘मोनिकाको घातपछि असईको सरुवा’ शिर्षकको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा स्रोतलाई उदृत गर्दै बसपार्कमा बृद्धा महिलामाथि कुटपिट गर्दै लफडा मच्चाएको गुनासोपछि मोनिका भनेर चिनिने एक तेस्रो लिंगी महिलालाई नियन्त्रणमा लिएको भोलिपल्टै प्रहरी इन्चार्जको सरुवा गरिएको उल्लेख थियो।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्दले २९ जेठको मध्यरातमा बसपार्कमा लफडा गरेर वृद्धामाथि कुटपिट गरेको आरोपपछि मोनिकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए।
तर, चन्दले नियन्त्रणमा लिएर जिप्रका बुझाएकी मोनिकाले नै प्रहरी प्रशासनसँग आफूमाथि अभद्र व्यवहार गरेकी थिइन्। त्यसपछि जिल्ला प्रहरी कार्यालयले चन्दको सरुवा गरेको थियो। यो प्रकरणमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाल अनावश्यक दबाब र प्रभावमा परेको आशंका समेत व्यक्त गरिएको थियो। तर, मोनिकाले प्रहरीलाई कुनै दबाब र प्रभावमा नपारेको दाबी गरेकी छन्।
यो पनि: