काठमाडौँ: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संघीय सांसद प्रदीप यादवलाई टिकटकमार्फत् गालीगलौज गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
चरित्रहत्या गर्ने अभिप्रायले टिकटकमार्फत गालीगलौज गर्नेलाई कारबाहीको माग गर्दै सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा विद्युतीय अपराधसम्बन्धी उजुरी दिएका हुन् ।
‘भगौडा सांसद’, ’पराल चोर’ जस्ता आपत्तिजनक शब्दको प्रयोग गरि बनाएको भिडियो उपेन्द्र साह र रवि व्रन्वाल नामको टिकटक आईडीमा अपलोड गरेर चरित्रहत्या गरिएको उजुरीपत्रमा उल्लेख छ ।
जाहेरीमा भनिएको छ, ‘उपरोक्त आइडी भएको व्यक्तिहरुलाई पत्ता लगाई निजहरु उपर साइबर क्राइमको मुद्दा चलाई विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी विपक्षीहरुबाट उक्त भिडियो डिलिट गराई सामाजिक सञ्जालमार्फत माफी मगाई समेत पाउनका लागि यो निवेदन पत्र चढाएको छु ।’