सुर्खेत : प्रेम विवाह गरेको एक वर्षमै सुर्खेतको एक युवतीको रहस्यमय मृत्यु भएको छ ।
सिम्ता गाउँपालिका-६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको भेरीगंगा नगरपालिका-१० छिन्चु बजारको आफ्नै डेरामा पंखामा झुण्डिएको अवस्थामा शव भेटिएको हो । गएको आइतबार बिहान करिब नौ बजे ‘रहस्यमय’ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका-६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेम विवाह गरेकी थिइन् । सन्तोषीका परिवारले यो आत्महत्या नभई श्रीमान् बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । प्रेम विवाह गरे पनि केटाले घर नलिई छिन्चु बजारमै भाडामै राखेको र केटा र घर पक्षले मानसिक तनाव दिइ केटाले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।
केटीको घाँटीमा हातको छाप, चोट लागेकाले सन्तोषीले आत्महत्या नगरेको दाबी गर्दै माइती पक्षले रहस्यमय मृत्यु भएको हुँदा छानबिनको माग गर्दै केटा पक्षका विरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईले केटासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसहित आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको जनाएका छन् । प्रहरीका अनुसार श्रीमानलाई पक्राउ गरिसकिएको र जाहेरीमा परेकाहरूलाई पनि प्रहरीले नियन्त्रणमा ल्याएर अनुसन्धान भइरहेको जनाएको छ ।