धनगढीः गत शनिबार कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि बोहरा मृत अवस्थामा फेला परेकी थिईन् । गोदारी नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ।
प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए।
अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ।
नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ।
उनले अश्मीसँगै नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा पढ्ने लक्ष्मी खड्काको खोजी गरिरहेको बताए। ६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको परिवारको दाबी छ।