धनगढी: कैलालीका एक युवकले अस्पतालमै अनशन थालेका छन्। कैलालीको जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले वीर अस्पतालको बेडमै अनशन थालेका हुन्।
उनले प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएको र आफ्नो माग सुनुवाइ नभएको भन्दै अनशन थालेका हुन्।
उनले अस्पतालमा १७ औं दिनसम्म पनि अस्पतालको बेडमै अनशन जारी राखेका छन्। उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए। अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन्।
चिकित्सकले ‘ब्लप्रेसर लो’ भएको छ, तपाईंले अनशन तोड्नुपर्छ भनिरहनुभएको छ, उहाँ (वीरेन्द्र) ले माग पूरा नभएसम्म अनशन नतोड्ने भन्नुभएको छ,’ वीरेन्द्रकी पत्नी राधिका देवकोटाले भनिन्। रिपोर्ट सामान्य देखिएपछि डिस्चार्ज भएर माइतीघरमा आएर अनशन जारी राखेका हुन्।
‘म बिरामी भइरहेको छु, स्वास्थ्य जटिल देखिएको छ, तर सरकारले मेरा मागहरू सुनुवाइ गर्नै चाहेको छैन, माग पूरा नभएसम्म अनशन बसिरहन्छु,’ उनले भने। सात वर्षअघि काठ तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीलाई बचाउँदा गोली लागेर घाइते उनले आफ्नै खर्चमा उपचार गराएका थिए। सरकारले उपचार खर्च व्यहोर्ने आश्वासन दिए पनि उचित क्षतिपूर्ति नपाएको भन्दै अनशन बसेका हुन्।
डेढ महिना उपचार गर्दा जैसी परिवारको करिब पाँच लाख खर्च भएको थियो। त्यसबेला गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलायो। तर निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने हुँदा आर्थिक भार थपिएको, थप खर्च जुटाउन धौधौ परिरहेको छ। उचित स्वास्थ्योपचार नपाएर उनको स्वास्थ्य स्थिति पनि कमजोर बन्दै गएको छ।